fesbuk nepali

Tuesday, February 2, 2010

"कति जाना मान्छे थिए ?
गुरुजी .. दुई जना थिए
दुई जाना मान्छे ...!! सुगुरका छाउरा ... पचास पचास कोस टाढा गाउँमा जब बच्चा रुन्छन तब आमा भन्छिन, बाबा सुत ... होइन भने गब्बर सिंग आइपुग्ला..."

भाषा आफ्नै हो तर पनि कहिले कहिँ कुनै कुरा नेपालीमा सुन्दा अचम्म लाग्छ | जस्तो कि माथिको वाक्य जति हिन्दीमा सुन्दा जति हो जस्तो लाग्छ, वाक्यमा गल्ति केहि नभए नि नेपालीमा सुन्दा हो जस्तै लाग्दैन |

कुरो फेसबुक नेपालीको हो | दिपक जडितदाइको हालसालैका क्रियाकलापमा एउटा बुँदा देखियो,
"Deepak अब नेपाली भाषामा फेसबुक चलाउँदै हुनुहुन्छ ।"

मलाई नि ट्राई गर्न मनलाग्यो र फेसबुक नेपालीमा चलाउन थालें | दुई हप्ताको अबधिमा फेसबुकले मलाई अचम्ममा पारेको छ |

भोलिपल्ट तुरुन्त एउटा इमेल आयो
"Mani Bhattarai ले तपाईंको भित्तामा लेख्नु भो"
भित्र खोतलें , उसले त्यो दिन धेरै जानाको भित्तामा लेखेको रहेछ, ठिकै छ
अझ भित्र हेरें ... हामीले भित्तामा लेखा-लेख गरेछौं | फेसबुक भन्थ्यो,
"उहाँहरुले एक-अर्काको भित्तामा के के लेख्नुभएको छ, हेर्नुहोस् ।"
भित्र छिर्दा शिर्षक थियो
"म र Mani Bhattaraiको भित्तादेखि भित्तासम्म"

अर्को दिन एउटा इमेल आयो
"Prabina Parajuli ले तपाईँलाई फेसबुकमा खबर पठाउनुभयो"
ढिलो नगरी "पत्रमंजुषा " मा पुगें | पत्र अध्ययन गरें | माथि एउटा रमाईलो ट्याब थियो | "स्प्याम दाखिला" | साथिको पत्रलाइ स्प्याम दाखिला गर्ने कुरै भएन, फिर्कें |

चिनेका ब्यक्तिरुलाई साथी बनाउनुहोस्, आफूलाई मनपर्ने सार्वजनिक प्रोफाईलहरुका चाहक बन्नुहोस्, तस्बिर मनपराउनुस वा रुचाउनुस, धारणाहरु हेर्नुहोस्, एल्बम गोपनीयता सम्पादन गर्नुस, तस्बिर किताब सिर्जना गर्नुस, हटाउनुस, सञ्जालहरू जोड्नुस खाता ब्यबस्थापन गर्नुस, तपाईंलाई खाताको मालिक भनेर चिन्नको लागि गोपनियता प्रश्न सिर्जना गर्नुस , गोपनियता प्राथमिकता निर्धारण गर्नुस , खोज्नुहोस, मद्दत माग्नुस, तपाईंको मनमा के छ लेख्नुस, सम्बन्ध स्थिति खुलाउनुस, प्रोफाईल बिल्ला सृजना गर्नुस... जे सुकै गर्नुस तपाईं नेपालीमा गर्न सक्नु हुन्छ |

आफ्नै भाषा आफुले सुन्दा आफैलाई आश्चर्य लाग्नु पछाडी चाहिँ बानि कै कारण होला | दुई महिना फेसबुक नेपालीमा चलाए, अंग्रेजी सुन्दा हाँस उठ्छ | गुलियो मिठो सकभर आफ्नै भाषा राम्रो |

म फेसबुक नेपालीमा चलाउछु .. तपाईं नि ?

--------------------------
सन्दर्भ श्रोत :
http://www.youtube.com/watch?v=W_MnPWT1euQ
http://www.facebook.com/editaccount.php?language
http://www.facebook.com/deepakjadit

12 Comments:

राजेश बुढाथोकी 'नतांश' said...

मिलन जी, मैले पनि केही महिना अगाडि ‘फेसबुक नेपालीमा’ चलाएको थिएँ । एकदमै राम्रो लाग्यो तर विचमा मैले अंग्रेजीमै पनि फेसबुक राम्ररी चलाउन नजान्ने भएकोले पहिले अंग्रेजीमा सिकेर नेपालीमा डेरा सारौं भन्ने मनशायले अहिले अग्रेजीमा चलाइरहेको छु, अझ सिक्दैछु ।
जानकारी बाँड्नुभएको हार्दिक धन्यवाद । हार्दिक आभार तथा धन्यवाद सहयोग र समर्थनका लागि पनि ।

Basanta said...

अहिलेसम्म नेपालीमा चलाएको छैन मैलेचाहिँ। मिलनको भाइको अनुभव पढ्न पाऊँदा खुशी लाग्यो।

दीपक जडित said...

हा हा हा !!! सुरुमा नेपालीमा फेसबूक चलाउंदा फलानोले फलानोको भित्तामा लेख्नुभयो भनेको देखेर म एक्लै मरीमरी हाँसेको थिएँ । निक्कैबेर सोचेंपनि अंग्रेजीको वाल बुझाउन नेपालीमा भित्ता नै उपयुक्त शब्द हो कि पर्खाल अथवा अन्य कुनै उपयुक्त शब्दहरु पनि छन् भनेर । अरु शब्द त भेटिनं तर भित्ता भन्दा पर्खाल चैं अलि बेस हुन्थ्यो कि जस्तो लागेको हो मलाई । त्यस्तो नहुन पनि सक्छ तर नेपालीमा भनिएको भित्ताले ड्याम्मै अघिल्तिर छेक्ने भित्तो बुझाउने हो जस्तो लाग्छ मलाई र फेसबूकको 'वाल' चैं नेपालीमा भन्दा ड्याम्मै छेक्ने भित्ता जस्तो नभएर आधाउधि छेक्ने पर्खाल जस्तो लाग्छ । फलानाले फलानोको पर्खालमा लेख्नुभयो भनिंदा अझै सान्दर्भिक हुन्थ्यो कि जस्तो लाग्छ । जे होस् मैले मनमा निक्कै खेलाएको यो विषयमा ब्लग लेख्नुभएको पाउँदा रमाईलो लाग्यो । नेपालीमा फेसबुक चलाउंदा मलाई गर्व लागेको पनि छ ।

विवेक said...

मैले चैँ अलि पहिला नेपालीमा चलाएको थिएँ विचमा छाडिदिएको थिएँ तपाईको ब्लग पढेपछी फेरी ईच्छा जागेको छ ।

ओजोन said...

I first used nepali but i left i found some hassel.

सूर्य/सिकारु said...

दीपक जी बाट शुरु भएको यो कार्य मा मा पनि लागु गरे। मिलन जी ले भने झैँ अति रमाइलो र अचम्म लागें नै रहेछ । पहिले त अंग्रेजी बाट नेपालीमा ढालिएका शब्द हरु पढदा नै अति रमाइलो लाग्ने दोस्रो मलाई सानो छदा स्कुलमा नेपाली सिकेको जस्तो भान भयो ।

Dhruba Panthi said...

"गुलियो मिठो सकभर आफ्नै भाषा राम्रो |"

शंकै छैन। केही साता भयो मैले पनि फेसबुक नेपालीमा चलाउन लागेको। यसले गौरवान्वित र रमाइलो दुवै गराएको छ।

कृष्णपक्ष said...

म पनि नेपालीमै चलाउदै आइरहेछु शुरुदेखि नै रमाइलो लागेर ....तर यसले धेरै कुराहरुलाइ अझ नेपालीकरण गर्न भ्याइसकेको भने छैन ।

चूडामणि/मणि said...

"भित्र छिर्दा शिर्षक थियो"म र Mani Bhattaraiको भित्तादेखि भित्तासम्म" !
बडो रोचक भएछ ! मैले चलाउनै बाँकी छ | अलि ढीलो छु म यस्ता कुरामा | सबै कुरा बानि नै हो भन्ने कुरामा कुनै संकै छैन | मिलनको कसैसंग बानी पर्यो भन्ने गजलको सम्झना आयो मलाई त |

Chaitanya said...

ल है,मैले पनि यो खाताका मालिक मिलनजीको भित्तामा यो जानकारी उत्साहबर्द्धक भएको धारणा दाखिल गरें|

दूर्जेय चेतना said...

मैले चलाएको छैन अब सुरु गर्छु कस्तो हुदो रहेछ है त। रमाईलो जानकारी

MANYU said...

मिलन जी,
तपाईँको कुरा राम्रो लाग्यो
मेरो भाषिक शुद्धता छैन ...
तर सकभर बोलचालको भाषाको प्रयोग गर्न चाहन्छु तर ह्रश्व दीर्घ खयाल होस् भन्ने चाहन्छु।

अनि, रोमनाईजड यूनिकोड को प्रयोग गर्छु,
फेसबुक त केही दिन चलाएँ नेपालीमा,
खै, बनावटी जस्तो लाग्यो, आफ्नै जस्तो लागेन।
तर देवनागरी लिपी प्रयोग गर्छु,सान्धर्भिक ठाउँमा मात्र।